काठमाण्डौं। ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर पुग्ने सडक कालोपत्र गर्न सुरु गरिएको छ। बर्खा याममा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने पाथीभरा सडक कालोपत्र गन गत सातादेखि सुरु गरिएको हो।
पाथीभरा सडक खण्डको सुकेटारदेखि काफ्लेपाटीसम्म ११ किलोमिटर सडक कालोपत्र सुरु गरिएको हो। उक्त सडक कालोपत्रको जिम्मा कन्टेक निर्माण प्रालिले पाएको छ। उत्तर दक्षिण (मूलघाट, दोभान ओलाङ्चुङगोला) सडक योजना कार्यालयका अनुसार सम्झौता भएसँगै कालोपत्रका लागि अहिले ग्राभेल गर्ने काम भइरहेको छ।
केही दिनमै कालोपत्र गर्न आवश्यक पर्ने मिशिन तथा आश्यक सामग्री आइपुग्ने बताइएको छ। ठेक्का सम्झौता अगाडि नै कालोपत्र गरिसक्ने योजनाका साथ निर्माण तीव्र रुपमा अगाडि बढाइको छ।
कार्यालयका अनुसार सडक कालोपत्र गर्न निर्माण कम्पनीसँग ४० करोड ७६ लाखमा ठेक्का सम्झौता भएको छ। दुई वर्षभित्र सुकेटारदेखि पाथीभरा क्षेत्रको काफ्ले पाटीसम्म कालोपत्र निर्माण सम्पन्न गर्नेगरी निर्माण कम्पनीसँग सम्झौता भएको हो। पाथीभरा जाने सडकअन्तर्गत सदरमुकाम फुङ्लिङदेखि सुकेटार विमानस्थलसम्म आठ किलोमिटर दूरी भने विगतमै कालोपत्र भइसकेको छ।
सडक कालोपत्र भएपछि पाथीभरामा पूजापाठ गर्न आउने तीर्थयात्रीको सङ्ख्या बढ्ने पाभीभरा क्षेत्र विकास समितिले जनाएको छ।