काठमाडौं। दोलखाको मेलुङ गाउँपालिका–५, डाँडाखर्कको पाखेडाँडा क्षेत्रमा सडक सञ्जाल जोडिएको छ। सडक सञ्जाल जोडिएसँगै दुर्गम मानिने बस्ती सुगम बनेको हो।
सडक सञ्जालसंँग जोडिएर यातायात सञ्चालनमा आएपछि स्थानीयले विकास र सुविधा दुवैको अनुभूति गर्न पाएकामा हर्षित बनेका स्थानीले बताए।
पालिकाकै दुर्गम पाखेडाँडामा गाउँपालिकाले विकास र सुविधाको अनुभूति गराएको छ। दुर्गम क्षेत्र भएकै कारण कसैको नजर नपरेको उक्त ठाउँमा अहिले गाउँपालिकाको पहलमा विकासको पूर्वाधार मानिने सडक सञ्जालले जोडिएपछि यो गाउँमा बस सेवासमेत सुरु भएको गाउँपालिकाले जनाएको छ।
सडककै कारण स्थानीयको जीवनशैली मात्र फेरिएको छैन हरेक कुरामा सहज भएको छ। गाउँको मुहार पनि फेरिएको स्थानीयको भनाइ छ। पिछडिएका थामी, मगर र श्रेष्ठ समुदायका नागरिकको बसोबास रहेको यो बस्तीमा स्थानीय तहको निर्वाचन भएको दुई वर्षपछि २०७६ सालमा पहिलो पटक सडक पुर्याएको गाउँपालिकाले जनाएको छ।