डोटी। लगभग तीन वर्षअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको डोटी र कैलालीमा पर्ने सडक कालोपत्रे योजना अझै अलपत्र बनेको छ।
पिआरएल कुमार जेभी निर्माण कम्पनीसँग गरिएको सम्झौतामा कैलालीको सहजपुरदेखि डोटीको बडीकेदार गाउँपालिका– ५ गाणेबाँजसम्म ५० किलोमिटर सडक ३० महिनाभित्रै कालोपत्रे गर्ने उल्लेख गरिएको छ। तर, तीन वर्ष पूरा भइसक्दा पनि अहिलेसम्म साढे चार किलोमिटर सडक मात्रै कालोपत्रे भएको छ।
तिन वर्षअघि शिलान्यास गरिएको उक्त सडक कालोपत्रे योजना अहिलेसम्म आइपुग्दा शिलान्यासमा मात्रै सीमित भएको बताइएको छ। सडकमा पर्ने रुख काट्ने आदेश नपाएकाले, बेमौसमी वर्षा तथा कोरानाका कारण समयमा काम गर्न नसकिएको सहजपुर, बोगटान, दिपायल सडक आयोजनाले जनाएको छ।
२०७९ असारसम्म योजनाको म्याद थप भएको र असारसम्म ३३ किलोमिटर सडक कालोपत्रे हुने आयोजनाले बताएको छ। दोस्रो म्याद थपका लागिसमेत सिफारिस भइसकेको छ।