सुर्खेत। कर्णाली प्रदेशका ९६ प्रतिशतभन्दा बढी नागरिकले दूषित खानेपानी उपभोग गर्ने एक अध्ययनले देखाएको छ। नेपाल नगरपालिका संघअन्तर्गतको खानेपानी तथा सरफाइ परियोजनाको अध्ययनअनुसार ९६.५ प्रतिशतले दूषित खानेपानी पिउने गरेको पाइएको हो।
कर्णालीका साढे ३ प्रतिशत नागरिकले मात्र स्वच्छ खानेपानी उपभोग गर्ने उक्त अध्ययनले देखाएको छ। अध्ययनअनुसार भौगोलिक विकटता र पानी शुद्धीकरण गर्ने यन्त्र नहुँदा कर्णालीका अधिकांश बासिन्दा स्वच्छ खानेपानीबाट वञ्चित भएका हुन्।
परियोजनाले गरेको अध्ययनअनुसार सुर्खेतको रेक्चागाउँमा खानेपानी लिन ३ घण्टाको समय खर्चिनुपर्ने बाध्यता छ। ‘त्यहाँका बासिन्दाले पानी पिउँदा पनि सोचेर पिउनुपर्छ,’ उनले भने, ‘पानीको मुहानमै बस्तुभाउ र मानिसले एउटै पानी प्रयोग गर्नु परिरहेको छ।’ दैलेखको नारायण नगरपालिका–४ बिनीका २५ घरधुरीले पनि लामो समयदेखि कुवामा जम्मा भएको पानी प्रयोग गरिरहेका छन्। बिनीमा खानेपानी पुर्याउन १३ वर्षअघि नारायण नगरपालिकास्थित साहारे साना सहरी खानेपानी आयोजनाले काम सुरु गर्यो। योजनाका लागि स्थानीयले ७ हजारदेखि १२ हजार रुपैयाँसम्म बुझाए पनि, तर अहिलेसम्म पानी नआउँदा स्थानीयहरू वर्षौंदेखि धमिलो पानी खान बाध्य भएको स्थानीयले बताएका छन्।
कर्णाली प्रदेश सरकारले यो वर्ष खानेपानी तथा सरसफाइमा १ अर्ब ६० करोड रुपैयाँ विनियोजन गरेको छ । गत वर्ष कर्णालीका १० वटै जिल्लामा परीक्षण ल्याब स्थापना गर्न भन्दै बजेटसमेत विनियोजन गरियो। तर कर्मचारी अभाव देखाउँदै प्रयोगशाला स्थापनाको काम रोकिएको छ।