तुलसीपुर। दाङको दङ्गीशरण गाउँपालिकाको पोटली–मिरौली–चखौरा–रावतगाउँ हुँदै एकली जोड्ने सडक निर्माण कार्य अहिले ठप्प भएको छ। विगत ६ महिना देखि उक्त सडक निर्माण ठप्प भएको हो।
चार किलोमिटर सडक कालोपत्र गर्नका लागि रु आठ बजेट विनियोजन भएको छ। तीमध्ये अहिलेसम्म करिब रु एक करोड मूल्य बराबरको काम भएको बताइएको छ। त्यसपछि लामो समयदेखि निर्माण ठप्प छ।
निर्माण ठप्प हुँदा त्यहाँ कार्यरत मजदुरहरुले दुई महिना काम गरेको पारिश्रमिक नपाएपछि उनिहरुसमेत मारमा परेका छन्। ठेकेदार कम्पनीले पटक–पटक दिन्छु भनेर आश्वासन दिए पनि अहिलेसम्म पारिश्रमिक नपाएको मजदुरले बताएका छन्। झन्डै ८० जनाले पारिश्रमिक नपाएको मजदुको गुनासो छ।
भुसाल गायत्री बस्नेत जेभी कन्स्ट्रक्शनले सो ठेक्का लिएको बताइएको छ। गत वर्ष जेठ १ गतेदेखि काम सुरु भएको थियो। त्यसपछि करिब दुई महिनामात्रै काम भएको बताइएको छ।
वैशाख ३ गतेदेखि काम गर्ने भनी ठेकेदारले प्रतिबद्धता जनाएकाले त्यतिबेलादेखि काम सुरु नभए ठेक्कासमेत रद्द गर्न सक्ने चेतावनी दिएको बताइएको छ। प्रदेशसभाको रु आठ करोड बजेटमा सडक पूर्वाधार कार्यालय दाङमार्फत उक्त सडक निर्माणको काम अघि बढेको हो। सडक निर्माणको जिम्मा पाएका भुसाल गायत्री बस्नेत जेभी कन्स्ट्रक्शनले निर्माण काम तत्काल सुरु गर्ने बताएको छ। अहिले निर्माण सामग्री पनि महङ्गो भएकाले पनि निर्माण कार्यमा समस्या आएको निर्माण कम्पनीले जनाएको छ।