काठमाडौं। बितेको छ महिनायता कञ्चनपुरको महाकाली नदीमा निमार्णाधीन चार लेनको पक्की पुल निर्माणले गति लिन सकेको छैन।
सुदूरपश्चिमकै ठूलो आयोजनाभित्र पर्ने चार लेनको ८०० मिटर लम्बाइको पक्की पुलसँगै बन्ने ड्याम, पहुँचमार्गलगायतमा प्रक्रियागत उल्झन देखिएपछि ढिलाइ भएको छ। गत कात्तिक पहिलो साता महाकाली नदीमा आएको बाढीपछि यहाँ पुलको काम प्रभावित बन्न पुगेको थियो। त्यसयता पुलको काम छिटपुट रूपमा भए पनि बाँध निर्माणलगायतका काम भने सुरु नै हुन सकेको छैन।
पुलको चौतर्फी बन्ने पोखरीका लागि ‘गाइडबण्ड’ बनाउन डिजाइन परिर्वतन स्वीकृत भए पनि ‘भेरिएसन अर्डर’ नहुँदा काम अगाडि बढ्न नसकेको पुल निर्माण कम्पनीको भनाइ छ। यसअघि ठूला ढुङ्गाको ‘गाइडबण्ड’ बनाउने सम्झौतामा रहे पनि ठूलो ढुङ्गाको व्यवस्थापन हुन नसकेपछि डिजाइन परिर्वतनको पहल भएको हो। गाइडवण्ड बनाउन करिब १ लाख ८१ हजार घनमिटर ढुङ्गा आवश्यक थियो।
पुल निमार्णको जिम्मा पाएको कुमार श्रेष्ठ निर्माण कम्पनी तथा चाइना फ्युल कन्स्ट्रक्सन कम्पनी (सीएफसी) जेभीले गाइडवण्डको डिजाइन परिर्वतन भए पनि ‘भेरिएसन अर्डर’ नहुँदा आर्थिक विषय नटुङ्गिएको बताएको छ। ‘गत फागुन २३ मा डिजाइन परिर्वतन भए पनि ‘भेरिएसन अर्डर’ नुहँदा काम ढिला भएको कम्पनीले जनाएको छ।