काठमाडौं। धार्के–सीतापाइला सडक ट्रयाक खोलेको ३४ वर्षपछि स्तरोन्नति गर्ने प्रक्रिया शुरु भएको छ। नागढुंगा–नौबिसे सडकको विकल्पका रूपमा रहेको धार्के–सीतापाइला सडक स्तरोन्नतिको प्रक्रिया अघि बढाइएको हो।
सडक सम्पन्न गर्नका लागि चाहिने बजेट सरकारले ५५ करोड रुपैयाँको सुनिश्चित गरिदिएपछि ठेक्का आह्वान गरिएको छ।
सडक डिभिजन कार्यालय नुवाकोटले धार्के–सीतापाइला सडकको धादिङ खण्डको धार्केदेखि ठूलोखोलासम्म १४ किलोमिटर सडक स्तरोन्नतिका लागि ठेक्का आह्वान गरेको हो। यसका लागि एक वर्षको समयावधिमा निर्माणको काम सक्ने गरी ठेक्काको प्रक्रिया अगाडि बढाइएको सडक डिभिजन नुवाकोटले जनाएको छ।
ठूलो खोलादेखि सीतापाइलासम्म १० किलोमिटर छ। सीतापाइलादेखि रामकोटसम्मको ५ किलोमिटर सडक ६ देखि ११ मिटरसम्म कालोपत्रे नै भइसकेको छ। रामकोटदेखि काठमाडौं–धादिङको सिमाना ठूलो खोलासम्मको बाँकी ५ किलोमिटर सडकमा भने अहिले धमाधम काम भइरहेको छ।
यस सडकको निर्माण कार्य समयमा सकिए मात्र नागढुंगा-मुग्लिन सडक विस्तारको काम अघि बढाउन सकिने विभागको भनाइ छ। यो सडक नबनेसम्म सवारी आवागमनका लागि नागढुंगा–मुग्लिन सडक नै प्रयोग गर्नुको विकल्प नभएकाले त्यसलाई चार लेनमा विस्तारको योजनामा काम गर्न असम्भव छ।
यो सडक खण्ड कालोपत्रे भएपछि धार्के हुँदै काठमाडौं आउजाउ गर्ने यात्रुलाई सहज हुनेछ भने नागढुंगा–मुग्लिन सडक चार लेनको पार्ने क्रममा धार्केदेखि काठमाडौंतर्फको यातायात व्यवस्था पनि सहज हुने छ।