काठमाडौं। काठमाडौंमा फोहोर फ्याँक्नुअघि घरबाटै कुहिने र नकुहिने फोहोर छुट्टयाउनुपर्ने बाध्यकारी व्यवस्था लागु हुने भएको छ।
त्यसो नगरे प्रत्येक पटक ५ सय रुपैयाँ जरिवाना हुने काठमाडौं महानगरपालिकाले जनाएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयले कामपालाई दुई फरक प्रकृतिको फोहोर छुट्टाछुट्टै व्यवस्थापन गर्न निर्देशन दिएपछि कामपाले सो व्यवस्था लागु गर्न लागेको हो ।
कामपा वातावरण विभागले बिहीबार सार्वजनिक सूचना जारी गरी फोहोर पृथकीकरण गरी कुहिने फोहोर संकलन गर्न आउने बार जैविक अर्थात् कुहिने फोहोर र नकुहिने फोहोर संकलन गर्न आउने बार प्लास्टिकलगायतका नकुहिने फोहोर संकलन गर्ने जनाएको छ।
कामपा वातावरण व्यवस्थापन विभाग प्रमुख सरिता राईले वैशाख १ गतेबाट वडा नम्बर १० मा यो व्यवस्था लागु भइसकेको जानकारी दिए । वैशाख महिनासम्म सूचना, माइकिङसहित प्रचारप्रसार गरेर जेठबाट सबै वडामा लागु गरिने उनले बताए। स्रोतमै फोहोरको वर्गीकरण नगरे जेठ १ गतेबाट जरिवाना तिराउन शुरू गर्ने उनले जानकारी दिए ।
विभागले आइतबार, मंगलबार र शुक्रबार नकुहिने फोहोर संकलन गरिने जनाएको छ । त्यसैगरी सोमबार, बुधबार र बिहीबार कुहिने फोहोर संकलन गर्ने व्यवस्था गर्न लागिएको विभागले जनाएको छ ।