काठमाडौं। म्याग्दीको पश्चिम भेगलाई सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरबाङ सडक कालोपत्रे गर्न सुरु गरिएको छ। सडक ट्र्याक खुलेको १५ वर्षपछि पहिलो चरणमा बेनीदेखि तातोपानीसम्म नौ किलोमिटर सडक कालोपत्रे गर्न सुरु गरिएको हो।
मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने सडक स्तरोन्नतिसहित कालोपत्रे गर्ने योजना चार वर्षअघि सुरु गरिएको भएतापनी निर्माण व्यवसायीको ढिलासुस्तीका कारण समयमै सम्पन्न हुन नसकेको बताइएको छ।
सडक विस्तार, नाली, पर्खाल निर्माण र ग्राभेल सकेर कालोपत्रे गर्न प्राइम कोट राखेर अलकत्रा राख्न सुरु गरिएको बताइएको छ।
बेनीबाट तातोपानी खण्डको नौ किलोमिटर सडक वैशाख १५ भित्र कालोपत्रे गरिसक्ने योजनाका साथ धमाधम काम थालिएको पूर्वाधार विकास कार्यालयले जनाएको छ। हालसम्म ८ किलोमिटर सडक कालोपत्रे सम्पन्न गरिसकिएको बताइएको छ।
वैशाख १५ भित्रमा सम्पन्न गरि सक्नेगरी दैनिक १४ घण्टासम्म काम गरिरहेको लामा–समानान्तर निर्माण कम्पनीले जनाएको छ। २०७४ साल असोज ४ गते ४५ करोड रुपियाँ ठेक्का सम्झौता भएको यो सडक २०७६ माघ ४ गते निर्माण गरिसक्ने लक्ष्य थियो। सङ्घबाट प्रदेशमा हस्तान्तरण भएको सडकमा पर्याप्त बजेट विनियोजन नहुने, निर्माण कम्पनीले उपकरण र मजदुर परिचालन गर्न नसक्दा ढिला भएको बताइएको छ।