बागलुङ। कालीगण्डकी कोरिडोर आयोजना अन्तर्गत बागलुङ खण्डमा पर्ने मालढुङ्गा–बलेवाको कालोपत्रे गर्नका लागि बजेटको स्रोत सुनिश्चिता गरिएको छ। कालीगण्डकी कोरिडोरको बागलुङ खण्डअन्तर्गत मालढुंगा–बलेवा खण्डको १० किलोमिटर कालोपत्रका लागि अर्थ मन्त्रालयले बजेटको स्रोत सुनिश्चितता गरेको हो।
नेपाल सरकारले कालीगण्डकी कोरिडोरको गैंडाकोट–राम्दी–मालढुंगासम्म सडक कालोपत्रका लागि १ अर्ब एक करोड १८ लाख १७ हजार विनियोजन गरेको थियो। यसमध्ये बागलुङ खण्डअन्तर्गत मालढुंगा बलेवा विमानस्थलसम्मको १० किमी सडक कालोपत्रका लागि बहुवर्षीय ठेक्का प्रक्रियामा जान स्रोतको व्यवस्था भएको पत्र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई अर्थ मन्त्रालयले पठाएको जानकारी दिएको छ।
सडक विभागलाई हस्तान्तरण गरेको दुई वर्षमा बल्ल उक्त सडक कालोपत्रका लागि बजेट विनियोजन भएको हो । कोरिडोरअन्तर्गत मालढुंगादेखि बलेवा विमानस्थलसम्म १० किमी सडक १० मिटर चौडा बनाई विभागलाई २०७६ पुस १ गते हस्तान्तरण गरिएको थियो।
कोरोनाका कारण ढिलाइ भएको बागलुङ खण्डको बलेवा विमानस्थलदेखि पालुङखोलासम्म २८ किमी सडक १० मिटर चौडा पार्ने कार्य सकिएर गत असारमा नेपाली सेनाले विभागलाई हस्तान्तरण गरेको थियो।