म्याग्दी। म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–मालढुङ्गा सडक आजदेखि दैनिक ५ घण्टा बन्द हुने भएको छ। सडक स्तरोन्नतिका लागि आजदेखि दैनिक ५ घण्टा बन्द गर्न थालिएको हो।
निर्माणको कामलाई सहजरुपमा गति दिन आगामी वैशाख २५ गतेसम्म दैनिक बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म मालढुङ्गा–बेनी सडकमा यातायात बन्द गरिएको बेनी–जोमसोम–कोरला सडक आयोजनाले जनाएको छ ।
सवारी साधनको चापले सडक विस्तारको काम प्रभावित बनेपछि बेनी–जोमसोम–कोरला सडक आयोजना र निर्माण कम्पनी एपेक्स–खड्का कृष्ण जेभीले जिल्ला प्रशासन कार्यालयमा समय व्यवस्थापनको प्रस्ताव गरेका थिए । यसअघि गत पुस १५ देखि माघ १४ गतेसम्म पनि दैनिक पाँच घण्टा सवारी साधन बन्द गरिएको थियो ।
बेनी–मालढुङ्गा सडक बन्द हुने समयमा बेनी–रत्नेचौर–बागलुङ हुँदै मालढुङ्गा जोड्ने वैकल्पिक सडक प्रयोग गर्न सकिनेछ । एम्बुलेन्स र बिरामी बोकेका सवारी साधन तथा विकास निर्माणका अत्यावश्यक सवारी साधन सञ्चालनमा भने सहजीकरण गरिने भएको छ ।
एपेक्स–खड्का कृष्ण जेभीको सहायक निर्माण कम्पनी ओमकारेश्वरका सञ्चालक अमृत दाहालले सडक निर्माणलाई तीव्रता दिन सवारी साधन रोकेर काम गर्न समय मागिएको बताए ।