काठमाडौं। काठमाडौं उपत्यकाको फोहोर संकलन गर्ने गाडी ल्याण्डफिल साइट जाने समय निश्चित गरिएको छ। आजभोलि बिहान २ बजेदेखि ८ बजेसम्म मात्र फोहोरको गाडी ल्याण्डफिल साइट जाने भएका हुन्।
पासाङ् ल्हामु राजमार्गअन्तर्गत मुड्खु–तीनपिप्ले सडक निर्माण कार्यलाई सहज बनाउन यो भन्दा बाहेकको समयमा गाडी पठाउने गरिएको छैन।
स्थानीयबासीले उक्त सडक कालोपत्रे हुनुपर्ने माग राखेर चैत १८ देखि दोस्रोपटक अवरोध गरेका थिए। जसका कारण प्रभावित भएको काठमाडौंको फोहोर संकलन अझैसम्म नियमित हुन सकेको छैन। सडक निर्माण कम्पनीले कालोपत्रेको काम नियमित गर्ने प्रतिबद्धता जनाएपछि चैत २७ बाट बिहान मात्र फोहोर ढुवानी हुँदैछ।
सडकको कामलाई सहज बनाउन विहानको समयमा मात्र फोहोर ढुवानी गर्न थालिएको महानगरपालिकाले जनाएको छ। यसरी फोहोरको आंशिक व्यवस्थापन गर्न थालिएको ३ दिनमा ३ सय ४० ट्रक फोहोर ल्याण्डफिल साइटमा लगिएको वातावरण तथा कृषि विभागले जनाएको छ।
विभागका अनुसार शनिबार बिहान ८ बजेसम्ममा फोहोर बोकेका १ सय ७२ वटा ट्रक साइटमा पुगेका छन्। महानगरको वातावरण व्यवस्थापन विभागकाअनुसार सडक निर्माणका लागि माग गर्दै स्थानीयबासीले फागुन र चैत महिनामा ३ पटक फोहोर लैजान अवरोध गरे। यसअवधिका ३३ दिन फोहोर संकलन हुन सकेन।