दाङ। दाङको दंगीशरण गाउँपालिकाको पोटली–मिरौली–चखौरा–रावतगाउँ हुँदै एकली जोड्ने सडक निर्माण कार्य अलपत्र छ। पछिल्लो ६ महिनादेखि सडक निर्माण कार्य ठप्प भएको हो।
४ किलोमिटर सडक कालोपत्रे गर्नका लागि आठ करोड बजेट परेको छ। त्योमध्ये अहिलेसम्म करिब एक करोडबराबरको मात्र काम भएको छ। लामो समयदेखि निर्माण कार्य ठप्प हुँदा त्यहाँ कार्यरत मजदुरसमेत मारमा परेका छन्। करिब दुई महिना काम गरेका उनीहरूले पारिश्रमिक पाएका छैनन्। ठेकेदारले पटकपटक दिन्छु भनेर आश्वासन दिए पनि अहिलेसम्म पारिश्रमिक नपाएको मजदुरहरूले गुनासो गरेका छन्।
करिब ८० जना मजदुरले यसरी पारिश्रमिक नपाएको एक मजदूरले बताए। गत वर्ष जेठ १ देखि काम सुरु भएको थियो। जेठ र असारसम्म चलेर रोकिएको कामपछि कात्तिकमा मात्र सुरु भयो र मंसिरमा पुनः ठप्प भयो। ठप्प भएको काम अझै सुरु हुन सकेको छैन।
पसलमा पनि निर्माण कम्पनीको त्यत्तिकै उद्यारो रहेको स्थानीय बताउँछन्।
लुम्बिनी प्रदेशसभा सदस्य धमकली चौधरीले आफ्नो पहलमा बजेट परेको त्यस क्षेत्रमा काम ठप्प भएको भन्दै त्यसलाई सुचारु गर्नका लागि पहल भइरहेको बताइन्। ‘मैले ठेकेदारसँग पनि पटकपटक कुरा गरिरहेकी छु। सडक पूर्वाधार कार्यालयसँग पनि कुरा भइरहेको छ’, उनले भनिन्, ‘अब तत्काल सुरु हुन्छ।’ वैशाख ३ देखि काम गर्ने ठेकेदारले प्रतिबद्धता जनाएकाले त्यतिवेलादेखि काम सुरु नभए ठेक्का रद्द गर्ने चेतावनीसमेत दिएको उनले बताइन्।
प्रदेश सभाको ८ करोड बजेटमा सडक पूर्वाधार कार्यालय दाङमार्फत उक्त सडक निर्माणको काम अघि बढेको हो। भुसाल गायत्री बस्नेत जेभी कन्स्ट्रक्सनले उक्त सडक निर्माणको जिम्मा पाएको हो। निर्माण व्यवसायी आकाश भुसालले उक्त सडक निर्माण कार्य तत्काल सुरु गर्ने बताएका छन्। उनले वैशाख ३ गते आफू दाङ आउने र त्यसपछि काम सुरु गर्ने बताए। अहिले निर्माण सामाग्री पनि महँगो भएकाले पनि काममा समस्या भएको उनी बताउँछन्। स्राेत: नयाँ पत्रिका