सिन्धुली। बालकको मृत्यु भएको विषयलाई लिएर विपी राजमार्गअन्तर्गत सिन्धुली खण्ड बन्द गरिएको छ। पीडित पक्षले दोषीलाई कारबाहीको माग गर्दै आज बिहानैदेखि राजमार्ग बन्द गरिएको हो।
स्थानीयवासीले राजमार्गअन्तर्गत कमलामाई नगरपालिका–४ ढुङ्ग्रेबासमा अवरोध सिर्जना गर्दा राजमार्गमा कुनै पनि सवारीसाधन गुड्न सकेका छैनन्। राजमार्ग बिहानैदेखि बन्द भएको र खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।
पीडित पक्षलाई आवश्यक छलफलका लागि कार्यालयमा हिजोदेखि बोलाएको भए पनि पीडित पक्ष नआएको र सडकमा टाएर बालेर राजमार्ग अवरुद्ध पुर्याएको बताइएको छ। पीडित पक्षलाई बोलाई छलफल गरी सहमतिबाटै राजमार्ग खोल्ने प्रयास भइरहेको कार्यालयले जनाएको छ।
कमलामाई नगरपालिका–४ र ६ जोड्ने ग्वाङखोलामा पक्की पुल निर्माणको लागि खनिएको खाल्डोमा जमेको पानीमा डुब्दा सृयासको मृत्यु भएको हो।
पीडित पक्षले दोषिलाई कारबाहीको माग राख्दै शव जिम्मा लिएका छैनन। बालकको शव नबुझ्दा शव घनास्थलमै रहेको प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।