कञ्चनपुर। बंक–नायल–बुडर सडक खण्डअन्तर्गत कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ को पहरिया र सुन्दरी फाँटा जोडने ओदाल खोलाको पुल अलपत्र बनेको छ। उक्त पुल ३ वर्षदेखि अलपत्र बनेको हो।
१८ महिनामा सम्पन्न गरिसक्ने गरी उक्त पुलको ठेक्का सम्झौता भएको थियो। तीन वटा पिलर ठडिएका छन्। आसपासमा निर्माणका सामाग्रीरु अत्रतत्र छरिएका छन्। यसैगरी आदाल खोलाको नजिकै रहेको खार खोलामा निर्माणाधिन पुल ५ वर्षसम्म निर्माण सम्पन्न भएको छैन। उक्त दुइवटै पुल निर्माणको जिम्मा थेगिम कन्स्ट्रक्सनले पाएको थियो। ओदाल खोला ३ करोड ५३ लाख र खार खोलामा ६ करोड ५९ लाखमा निर्माण सम्पन्न गरीसक्ने गरी २०७३ सालमा ठेक्का सम्झौता भएको थियो।
यी दुईवटा खोलामा मात्र नभएर जिल्लामा निर्माणाधीन एक दर्जन पुलको काम पटकपटक म्याद थप गर्दासमेत नसकिएको बताइएको छ। कतिपय पुलको काम २।३ वर्षदेखि ठप्प रहेको सडक डिभिजन कार्यालय महेन्द्रनगरले जनाएको छ।
खार खोलको पुल निर्माणको ठेक्का पाएको थेगिम कन्स्ट्रक्सनले दुवै पुलको काम चालु आर्थिक वर्षमै सक्ने योजना रहेको जनाएको छ। ओदाल खोलाको पुल निर्माणको काम पनि छिट्टै सुचारु गर्ने निर्माण कम्पनीका इन्जिनियले बताए। ओदाल खोलाको पुल निर्माणमा ढिलाइ गरेको भन्दै निर्माण कम्पनीले १० प्रतिशत जरिवानासमेत तिरिसकेको छ। तर पनि काम सुचारु हुन सकेको छैन।
थेगिमले ठेक्का पाएको बेलौरीको भकुन्डामा दोदा नदीमा निर्माणाधीन पुलको काम पनि पटकपटक म्याद थप्दासमेत पूरा हुन सकेको छैन। चार स्पामको उक्त पुल निर्माणका लागि ३ वर्षको समयावधि तोकेर ०७३ मा थेगिम कन्स्ट्रक्सनसँगै २६ करोड ७१ लाखमा ठेक्का सम्झौता भएको हो।
दोदा नदीमै निर्माणाधीन देखतभुली–जाँई जोड्ने पुल पनि लामो समयदेखि अलपत्र छ। पिलर ठड्याएको ५ वर्षसम्म पनि पुलको काम भने ठप्प छ। उक्त पुल निर्माणका लागि ३ वर्षमा काम सक्ने गरी ०७२ मा राजेन्द्र निर्माण सेवासँग २४ करोड ५२ लाखमा ठेक्का सम्झौता भएको थियो।
पिलरहरूको पाइलिङमै प्राविधिक समस्या देखिएपछि काम रोकिएको बताइएको छ। सुरुमा निर्माण कम्पनीको लापरबाही र पछि प्राविधिक कारणले निर्माणमा ढिलाइ भएको छ। सडक डिभिजन कार्यालयअन्तर्गत कञ्चनपुरमा निर्माणाधीन १७ मध्ये ५ पुलको काम मात्रै सम्पन्न भएको छ। १२ पुलको काम पटकपटक म्याद थप्दा पनि सकिएको छैन। कतिपय पुलको काम अलपत्र परेको बताइएको छ।