काठमाडौं। नागढुङ्गा–मलेखु सडक विस्तारका लागि ठेक्का सम्झौता भएको छ। सरकारले नागढुङ्गादेखि मलेखुसम्मको सडक खण्ड विस्तारका लागि निर्माण कम्पानी छनोट गरेको हो।
नागढुङ्गादेखि नौबीसेसम्मको खण्डको विस्तारका लागि सगुन कन्स्ट्रक्स्नसँग खरिद सम्झौता भइसकेको छ । यस कम्पनीले एक चिनियाँ कम्पनीसँगको ज्वाइन्ट भेन्चरमा लागत अनुमान भन्दा ३५ प्रतिशत कममा ठेक्का हालेको थियो।
करिब १ अर्ब ३१ करोडको ठेक्का लागेको यो खण्डको काम नौबीसेतर्फबाट सुरु गर्ने गरी विभागले कार्यादेश दिइसकेको छ । यो खण्ड विस्तारको काम काम २ वर्षमा सकिने अनुमान छ ।
त्यसैगरी नौबीसेदेखि मलेखुसम्मको सडक विस्तारको कामको जिम्मा लामा–शर्मा जेभीले पाएको छ । यी कम्पनीसँग पनि एक चिनियाँ कम्पनीले जेभी गरेको छ । यो कम्पनीले ३ वर्षभित्र काम सक्ने गरी ५ अर्ब ३२ करोड रुपैयाँमा ठेक्का पाएको हो ।