कैलाली। प्रक्रिया शुरु गरेको डेढ दशकपछि धनगढी–दिपायल द्रुतमार्गको ट्रयाक खुलेको छ। कैलालीको चुरे गाउँपालिका–१ बबैना–ओजेना तीन किलोमिटर सडकखण्डको ट्रयाक खुलेसँगै खुटिया–दिपायल दु्रतमार्गको ट्रयाक पूरा भएको हो।
धनगढी–दिपायल द्रुतमार्ग निर्माण आयोजना कार्यालयका अनुसार कैलाली र डोटी खण्डमा ट्रयाक खोल्ने काम सकिएको छ भने गाडी सञ्चालनका लागि ग्रेडिङ गर्न बाँकी छ। कैलाली खण्डमा पर्ने बबैना–ओजेनामा तीन किलोमिटरमा ट्रयाक खोल्ने काम भएसँगै अब ग्रेडिङ गर्ने कार्य अघि बढाइने आयोजनाले जनाएको छ।
विसं २०६४ मा खुटिया–दिपायल द्रुतमार्गको औपचारिकरूपमा सर्भे गरी ट्रयाक खोल्ने कार्य थालिएको थियो । त्यसबेला खुटियाबाट दिपायलसम्म ८२ किलोमिटर सडक सर्भे भए पनि पछि कैलालीको स्याउलेबाट धनगढीसम्मको १० किलोमिटर सडक पनि थपेर ९२ किलोमिटरको धनगढी–दिपायल द्रुतमार्ग बनाउने निर्णय भएको थियो ।
अहिले सो सडकको धनगढी–स्याउले खण्डमा कालोपत्र निर्माणका लागि काम सुरु भएको छ । खड्का कृष्ण नारायणम् जेभीले भ्याटबाहेक रु १६ करोड ४० लाखमा ठेक्का पाएपछि धनगढीको पिपलचौताराबाट स्याउलेसम्मको १३.४ किलोमिटरमा कालोपत्र गर्नका लागि काम सुरु भएको हो ।