काठमाडौं। सुनसरीदेखि धनकुटा, पाँचथर हुँदै ताप्लेजुङसम्म जोडिने तमोर करिडोरको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ।
गत वर्ष सम्पन्न हुनुपर्ने गौरवको आयोजना तमोर करिडोर सडक निर्माण कार्य ९७ प्रतिशत सकिएको हो ।
कोरोनाका कारण एक वर्ष ढिलाइ भएको आयोजनाले जनाएको छ । सडकमा पर्ने १४ वटा खोलामा पुल निर्माण भने बन्न बाँकी छ ।
१५३ किमि लम्बाइको उक्त सडक पहिलो चरणमा पाँच प्याकेजका लागि ४ अर्ब ९२ करोड र दुई प्याकेज १ अर्ब ४४ करोडमा ठेक्का स्वीकृत भई निर्माण गरिएको छ। पूर्वी पहाडलाई तराई तथा काठमाडौंसँग छोटो दूरीमा जोड्ने गरी उक्त सडक निर्माण थालिएको हो ।
पाँचथरको गणेश चोकदेखि धनकुटाको मूलघाट हुँदै सुनसरीको चतारासम्म दुई लेनको उक्त सडक २०७५ देखि निर्माण थालिएको थियो । मेची तथा कोसी राजमार्ग हुँदै धरान तथा धनकुटा पुग्दा तमोर करिडोरको सडकभन्दा दोब्बर गुना लामो यात्रा गर्नुपर्ने बाध्यता अब टर्ने भएको छ ।