काठमाडौं। पोखरा–मुग्लिन सडकखण्ड पाँच दशकपछि स्तरोन्नति गर्न शुरु गरिएको छ। स्तरोन्नति पहिलो फेजमा आँबुखैरेनी र पोखरा–कोत्रे सडकखण्डका रुख कटान सुरु भएको हो।
एसियाली विकास बैंकको ऋण सहयोगमा चारदेखि ६ लेन सडक बन्नेछ। सहरी क्षेत्रमा ६ र अरू ठाउँमा डेडिकेटेड चार लेनको हुनेछ।
पोखरा–जामुने, जामुने–आँबुखैरेनी र आँबुखैरेनी–मुग्लिन गरी तीन खण्डमा सडक विस्तार हुने मुग्लिन पोखरा सडक योजना (पश्चिम खण्ड) का योजना प्रमुख अमितकुमार श्रेष्ठले जानकारी दिए। आँबुखैरेनी–मुग्लिन खण्डमा जलविद्युत् आयोजना पर्ने भएकाले ढिलाइ हुने भएको छ।
तनहुँ खण्डमा २ हजार २ सय ८० र कास्की खण्डमा एक हजार रुख कटान भइसकेको उनले जानकारी दिए। पोखरा खण्डमा बिजुलीको पोल, खानेपानी, सिँचाइका नहरलगायतका संरचना सार्नु पर्नेछ। यो साइट क्लियरेन्स हुन बाँकी छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको तयारीमा रहेकाले पनि यो सडक विस्तारलाई प्राथमिकता दिन यहाँका पर्यटन व्यवसायीले अनुरोध गरेका छन्।