सप्तरी। पश्चिमी कोशी नहरको बाटो निर्माण नभएको भन्दै सप्तरीका जनता आन्दोलनमा उत्रिएका छन् । नेपाल–भारतबीच ६८ वर्ष अगाडि भएको सम्झौता अनुसार सडक निर्माण नभएपछि बुधबारदेखि स्थानीय आन्दोलनमा उत्रिएका हुन्।
स्थानीय ‘कोशी सम्झौता रद्द गर्’, ‘नेपाल–भारत सरकार मुर्दावाद’, ‘बाटो तत्काल निर्माण गर’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर आन्दोलन गरिरहेका छन्।
उनीहरुले गाउँ पस्ने नहरको मुख्य बाटोसमेत अवरुद्ध गरी सवारी साधन आवतजावतमा रोक लगाएका छन् ।
पश्चिमी नहरको बाटो निर्माणका लागि सप्तरीको विष्णुपुर गाउँपालिकादेखि पश्चिम डाक्नेश्वरी नगरपालिकासम्मका हजारौँ जनताले दुई दशकदेखि पटक–पटक संघर्ष र दबाबका कार्यक्रमहरु गरिरहेको स्थानीयको भनाइ छ। तरपनि सम्बन्धित निकायले चासो नदिएको उनीहरुको गुनासो छ।
वर्षाले हिलाम्य सडकका कारण सवारी साधन आवतजावत समेत अवरुद्ध हुने भन्दै तत्काल निर्माण कार्य अघि बढाउन स्थानीयले माग गरेका छन्।
वि.सं २०११ सालमा नेपाल–भारतबीच कोशी सम्झौता भएको थियो । उक्त सम्झौतामा कोशी बाँध, पूर्वी नहर बाटो, पश्चिमी नहरलगायतका संरचनाहरू मर्मत सम्भारदेखि निर्माणसम्मका काम १९९ वर्षसम्म भारत सरकारले गर्नुपर्ने उल्लेख गरिएको छ।