काठमाडौं। जुम्लाको भेरिखोला क्षेत्रको दुर्गम ताम्ती गाउँ सडक सञ्जालमा जोडिएको छ। स्थानीय सरकार सञ्चालनको पाँच वर्ष पश्चात तातोपानी गाउँपालिका–८ स्थित दुर्गम ताम्ती गाउँ सडक सञ्जालमा जोडिएको हो।
क्रमागत योजनाका रूपमा निर्माण हुँदै आएको कर्णाली राजमार्ग हुदै त्रिवेणी टोप्टा सडक खण्डबाट ताम्ती गाउँ जोडने सडक नयाँ वर्षको सुरुवातसँंगै सञ्चालनमा आएको तातोपानी गाउँपालिकाले जनाएको छ। पालिकाको क्रमागत योजनामार्फत ताम्तीमा सडक पुर्याइएको हो।
तातोपानीका झण्डै तीन दर्जन बस्तीमध्ये अब भेरिखोलाका सुर्की र थलाले गाउँमात्रै सडकको पुहँच बाहिर छन्। यी दुई गाउँमा समेत बीचसम्म सडक बनिसकेको छ। पाँचवर्षे कार्यकाल पूरा गरेर जनप्रतिनिधि बिदाई हुँदै गर्दा ताम्ती गाउँ सडकको पहुँचमा पुगेपछि जनप्रतिनिधिको चुनावी वाचा पनि पुरा भएको बताइएको छ।
गाउँमा सडक पुगेसंँगै उत्पादित कृषि उत्पादनले पनि बजार पाउने आशा गरिएको छ भने बजार प्रवद्र्धनका लागि स्थानीय सरकारले आवश्यक सहकार्य गर्ने भएका छन्। स्थानीयको आवश्यकता र भौगोलिक विकटतालाई मध्यनजर गर्दै सडक निर्माणमा पहिलो प्राथमिकता दिएर तातोपानीका आठवटै वडाका सबै बस्तीमा ग्रामीण सडक पुर्याइएको हो। सडक सञ्जालसँग जोडिएपछि स्थानीय खुसी भएका छन्।