दार्चुला। व्यास गाउँपालिका वडा नं १ छाङरुमा नेपाली सेनाले क्याम्प राख्ने तयारी गरेको छ। दार्चुला तिंकर सडक निर्माणका लागि नेपाली सेनाले छाङरुमा क्याम्प राख्ने तयारी गरेको हो।
व्यास गाउँपालिका–२ कोठेधारमा सडक निर्माण भइरहेको र माथिबाट सडक निर्माण गर्न छाङरुमा सेनाको क्याम्प स्थापना हुन लागेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायले जानकारी दिए।
क्याम्प स्थापना हुने ठाउँमा बिहीबार नेपाली सेना र जिल्ला सुरक्षा समितिले हेलिकोप्टर मार्फत छाङरु पुगेर अनुगमन गरेको छ।
सेनाले निर्माण गरिरहेको सडकको समेत हवाई अनुगमन गरिएको प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताए। नेपाली सेनाले दार्चुला तिंकर सडकको निर्माणका लागि गत आर्थिक वर्षमा नै सुन्सेरा र दुम्लीङमा क्याम्पको स्थापना गरेको थियो।
हाल व्यास गाउँपालिकाको वडा नं २ कोठेधारमा सेनाले सडक निर्माणको काम गरिरहेको छ। केपी ओली नेतृत्वको सरकारले कोठेधार देखि तिंकर सम्म ८७ किलोमिटर सडक निर्माणको जिम्मा नेपाली सेनालाई दिएको थियो। पछिल्लो समय सरकारले तुसरपानी देखि कोठेधार सम्म थप चार किलोमिटर सडक निर्माणको जिम्मा सेनालाई दिएको छ।
कोठेधार–तिंकर सडकको नयाँ डिपिआर गरि नेपाली सेनाले सडक निर्माण गरिहेको छ । सरकारले सेनालाई जिम्मा दिदाँ ८७ किलोमिटर डिपिआरको कोठेधार–तिंकर सडकको जिम्मा दिएको थियो।