काठमाडौं। भक्तपुरको चाँगुनारायण नगरपालिकामा खहरे खोला मासेर प्लानिङको लागि सडक निर्माणको काम गरिएकोमा स्थानीयहरुले आपत्ति जनाएका छन्। चाँगुनारायण नगरपालिकामा वडा नं ५ खोला मास्ने गरी प्लानिङको लागि सडक निर्माणको कार्य शुरु गरिएको र यसले बस्ती नै डुबानमा पर्ने भन्दै आक्रोशित बनेका हुन्।
काठमाडौं उपत्यका विकास प्राधिकरणले प्लानिङ परमिट स्वीकृत गराएर मात्रै हाउजिङ, अपार्टमेन्ट र घडेरी विकास गर्न ताकेता गरी रहदाँ चाँगुनारायण नगरपालिकामा वडा नं ५ मा भने खोला मास्ने गरी प्लानिङको लागि सडक निर्माणको कार्य शुरु गरिएको बताइएको छ।
हाल खोला रहेको स्थानमा ३/४ वटा डोजर लगाएर खन्ने र हिम पाइप राखि खोलामाथि सडक निर्माण गर्ने काम धमाधम भइरहेको छ। खोला नै गायव हुने गरी प्लानिङको लागि बाटो निर्माण गर्न स्थानीय सरकारले नै बजेट विनियोजन गरेकोपति स्थानीयहरु आक्रोशित बनेका छन्।
स्थानीयवासीहरु जग्गा व्यापारीहरुले प्लटिङ गर्दा खहरे खोलाको बाटो साँघुरो पारेकाले बस्ती नै डुवानको चपेटामा परेको गुनासो गर्छन्। स्थानियहरुसँग छलफल नै नगरि जग्गाको साँध सीमाना नछुट्याइ जबरजस्ती रुपमा व्यक्तिगत लाभका लागि खोला पुर्न शुरु गरिएको स्थानीयहरुको आरोप छ।
खोला सीमाको दक्षिण र पूर्व भागमा करिव ४० घरपरिवारको चाँकतू बस्ती छ। पछिल्लो समय भक्तपुरमा अवैध रुपमा प्लानिङ गर्ने कार्य धमाधम भइरहेको छ।