काठमाडौं। रुसले दुई युरोपेली राष्ट्रमा ग्यास आपूर्ति बन्द गरेको छ। मस्कोको माग अनुसार रुसी मुद्रा (रुबल) मा भुक्तानी नगरेपछि पोल्याण्ड र बुल्गेरियामा ग्यास आपूर्ति बन्द गरेको हो।
अमेरिका र यसका सहयोगी राष्ट्रहरुका साथै युरोपले लगाएका आर्थिक प्रतिबन्धहरुको कडा प्रतिकारका रुपमा रुसले युरोपेली अर्थतन्त्रहरुलाई निसाना बनाएको समाचार एजेन्सी रोएटर्सले उल्लेख गरेको छ। रुसको यो कदमलाई युरोपेली राष्ट्रहरुले ‘ब्ल्याकमेल’ को संज्ञा दिँदै निन्दा गरेका छन्।
मस्कोले भने आफ्नो अर्थतन्त्रलाई प्रतिबन्धहरुबाट जोगाउन रुबलमा भुक्तानीका लागि दबाब दिन ग्यास आपूर्ति कटौती गरिएको जनाएको छ। रुसी ग्यास निर्यातमा एकाधिकार रहेको सरकारी कम्पनी ग्याजप्रोमले पनि पोल्याण्ड र बुल्गेरियामा ग्यास आपूर्ति पूर्णरुपमा बन्द गरिएको जानकारी गराएको छ। दुवै देशले भने ग्याजप्रोमले लामो समयदेखि कायम रहेको आपूर्ति सम्झौता उल्लंघन गरेको आरोप लगाएका छन्।
पोल्याण्डको ५० प्रतिशत भन्दा बढी र बुल्गेरियाको करिब ९० प्रतिशत ग्यास खपत ग्याजप्रोमबाट आपूर्ति हुँदै आएको छ। गत महिना रुसी राष्ट्रपति भ्यादिमिर पुटिनले सबै किसिमका उर्जाहरुको भुक्तानी रुबलमा गर्नुपर्ने आदेश दिएका थिए। पुटिनको आदेश अनुरुप नै ग्याजप्रोमले पोल्याण्ड र बुल्गेरियामा ग्यास आपूर्ति रोकेको हो।