हुम्ला । हुम्लाको दक्षिणी भेगमा रहेको अदानचुली गाउँपालिकामा नेपाल टेलिकम सेवा अवरुद्ध भएको छ । विगत लामो समयदेखि टावरमा खराबी देखिएपछि स्थानीयवासी समस्यामा परेका हुन् ।
टेलिकमले राखेका दुई वटा र गाउँपालिकाको सिमाना जोडिएको मुगुको सोरुमा राखिएको टावरले काम गर्न छाडेपछि सेवाग्राही डाँडाकाँडा धाउन बाध्य भएका छन् । केही महिनायता तीनवटै टावरले बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म काम गर्न छाडेपछि दिउँसो अग्ला डाँडा र रुख चढ्न बाध्य भएको स्थानीयको गुनासो छ ।
अघिल्लो वर्ष पनि यस्तै समस्या आउँदा दुई महिना लगाएर सबै टावर मर्मत गरिएको थियो तर यस वर्ष भने टेलिकमले कुनै ध्यान नदिएको अदानचुली–२ को ढोगर्नामा राखिएको टावरका सुरक्षामा खटिएका चौकीदार नरबहादुर बोगटीले बताए । हरेक वर्ष टावर बनाउन मर्मत टोली आउने गरे पनि समस्या समाधान हुन नसकेको उनको भनाइ छ ।
मुगुको सोरु गाउँपालिकास्थित सोरुमा राखिएको टावरबाट फोरजी सेवा विस्तार गर्न लागेकाले नेटवर्कमा समस्या देखिएको टेलिकमले जनाएको छ । हुम्लाको यस क्षेत्रमा नेटवर्कसम्बन्धी समस्या देखिएको चार वर्ष पुगेको छ ।