धनगढी। नेपाली सेनाले दार्चुलामा ७५ किलोमिटर सडक निर्माण गरेको छ। दार्चुला जिल्लाको दार्चुला–टिंकर सडकअन्तर्गत कोठेधार–टिंकर खण्डको ७५ किलोमिटर सडक निर्माण गरेको हो।
१४ वैशाख २०७७ मा बसेको मन्त्रिपरिषदको बैठकले दार्चुला–टिंकर सडक निर्माणको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको थियो। सडक निर्माणको जिम्मा सेनालाई दिने मन्त्रिपरिषद्को निर्णयबमोजिम २८ वैशाख २०७७ बाट उक्त क्षेत्रमा सडक निर्माणका लागि नेपाली सेनालाई परिचालन गरिएको थियो।
सुनसेरा–तुसरापानीको तीन किमि सडकखण्ड २०७८ मा भएको भारी वर्षात्ले आएको पहिरोले क्षति पुर्याएको थियो। वर्षाले क्षति भएको सडक खण्डमध्ये १.५ किमि सडकको नयाँ ट्र्याक सडक विभागले पुनः खोलेको थियो। बाँकी सडकखण्डको निर्माणकार्य स्थानीयबासीको विरोधले हुन सकेको थिएन।
तर १८ चैत २०७८ मा निर्माण कार्यलाई अघि बढाउन जिम्मेवारी प्राप्त भएसँगै तुसारापानी खोलामा वैकल्पिक मार्गद्वारा सेनाले स्काभेटरसमेत पुर्याएर निर्माणकार्य गरेको छ।