मोरङ। निजी क्षेत्रका तीन व्यवसायिक संगठनका प्रदेश १ प्रतिष्ठानहरुले गर्ने भनिएको आन्दोलन स्थगित भएको छ। आजदेखि विद्युत आपूर्ति सहज हुने भएपछि आन्दोलन स्थगित गरेका हुन्।
यसअघि उद्योगहरुले दिनको १८ घन्टासम्म लोडशेडिङ व्यहोर्नुपर्ने अवस्था रहेको भन्दै मोरङ व्यापार संघ, उद्योग सङ्गठन मोरङ र नेपाल उद्योग परिसंघ (सीएनआई) को प्रदेश नम्बर १ ले चरणबद्ध आन्दोलनमा जाने घोषणा गरेका थिए।
शुक्रबार संयुक्त पत्रकार सम्मेलन गर्दै प्राधिकरणलाई वैशाख २० सम्ममा पूर्वका उद्योगलाई पनि पक्षपात नगरी विद्युत आपूर्ति सहज नबनाए चरणबद्ध आन्दोलनमा जाने नेपाल विद्युत प्राधिकरणलाई चेतावनी दिएका थिए।
प्राधिकरणले आजबाट उद्योगमा विद्युत आपूर्ति सहज गरिदिएपछि प्रदेश १ मातहतका तीनै छाता संगठनहरुले आन्दोलन स्थगित भएको जनाउँदै संयुक्त विज्ञप्तिमार्फत धन्यवाद दिएका छन्।
‘हाल विद्युत प्राधिकरणले औद्योगिक क्षेत्रको विद्युत आपूर्तिको समस्या समाधानको प्रयासस्वरुप निजी क्षेत्रसँग छलफल गरी भविष्यमा औद्योगिक क्षेत्रलाई विद्युतको संकट आउन नदिने विषयमा प्राधिकरण प्रतिबद्ध रहेको आश्वासन समेत प्रकट गरेको र आजदेखि विद्युत प्रसारण समेत सुचारु भएकोप्रति हामी समस्त उद्योगी व्यवसायीहरु उत्साही भएका छौं। प्राधिकरणको यस कार्यका लागि प्रशंसासहित धन्यवाद ज्ञापन गर्दछौं’, विज्ञप्तिमा भनिएको छ।