डोटी। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले कैलालीको धनगढीदेखि डोटीको बिपीनगर, गडसेरा तथा बझाङको उरै हुँदै चिनको ताक्लाकोट जोड्नका लागि सिधा सडक अर्थात् द्रुतमार्ग निर्माण गरिने बताएका छन्।
धनगढीमा रहेको गेटा विमानस्थल स्तरोन्नतीका लागि कैलाली पुगेका मन्त्री आले डोटी पनि पुगेका थिए। डोटीको जोरायल गाउँपालिका–५ गड्सेरा पुगेका मन्त्री आलेले सो स्थानका स्थानीयसँगको भेटघाट तथा छलफलका क्रममा उक्त सडक जुनसुकै हालतमा भए पनि निर्माण गरिने बताएका हुन्।
उनले भने, ‘कैलालीको धनगढीदेखि चिनको ताक्लाकोट सम्म जोड्न द्रुतमार्ग निर्माणका लागि पहल चालेको छु, मैले उक्त सडक निर्माण गरेर देखाउँछु।’
उनले यो सडक निर्माणको लागि आफूले एसियाली विकास बैंक (एडीबी)सँग पहल चालेको पनि बताए। मन्त्री आलेले कैलालीको धनगढीदेखि चिनको ताक्लाकोट सम्म सडक जोडिए चिनका पर्यटकहरु पनि सुदूरपश्चिम आउन सहज हुने र भारतका पर्यटक पनि आउने भएकाले पर्यटकहरु यहाँ भित्रयाउन सके यहाँको विकासमा सहज हुने जिकिर गरे।