पाल्पा। नेकपा एमालेले रामपुर नगरपालिकालाई ‘डिजिटल रामपुर’ बनाउने प्रतिबद्धता जनाएको छ।
रामपुरको प्रमुखको उम्मेदवार बनेका एमालेका शिव अर्यालले नगरपालिकालाई ‘डिजिटल रामपुर’ बनाउने प्रतिबद्धता घोषणापत्रमार्फत गरेका हुन्।
उनको घोषणापत्रमा लेखिएको छ, ‘रामपुर नगरको केन्द्रबाट टाढा रहेका वडाका नागरिकले सेवा पाउन अब केन्द्र धाउने होइन । घरमै बसी बसी सेवा लिन पाउने गरी डिजिटल अवधारणा ल्याइएको छ । नगर प्रमुख पदमा निर्वाचित भएमा नमूना डिजिटल रामपुर बनाउने मेरो संकल्प छ ।’
नरगभित्रका केही वडा कार्यालय भाडाका घरमा रहेकाले त्यसको व्यवस्थापन पनि आफूले गर्ने उनले बताएका छन् । प्रत्येक वडामा एम्बुलेन्स सेवा सञ्चालन गरी प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउने उनको प्रतिबद्धता छ ।
विकासका पूर्वाधारलाई स्तरोन्नति गर्ने, अधुरा कामलाई पूरा गर्ने, अबको ५ वर्षभित्र रामपुरलाई समुन्नत र नमूना नगर बनाउने योजना उनले बनाएका छन् ।