काठमाडौं। चीन सरकारको आर्थिक र प्राविधिक सहयोगमा रसुवामा निर्माणाधीन टिम्मुरे सुख्खा बन्दरगाहको भौतिक प्रगति ३२ प्रतिशत पुगेको छ। कोरोना महामारीका कारण लामो समय निर्माणमा बाधा पुगेको आयोजनाले अहिले गति लिएको हो।
मंसिरयता बन्दरगाहको भौतिक निर्माणको प्रगति झण्डै दोब्बर भएको इन्टर मोडल यातायात विकास समितिले जनाएको छ।
समयमै निर्माण सकिएको भए यही वैशाखमा आयोजना सम्पन्न हुनुपर्ने थियो। कोभिडका कारण आफ्नो देश फर्कीएका चिनियाँ कामदारहरु मंसिरमा नेपाल फर्किए पनि आयोजना निर्माणले गति लिएको थियो। कोभिड र कोरोनासँगै नदी छेउमा निर्माणधीन आयोजनालाई बाढीले समेत क्षति पुर्याएको थियो।
उक्त बन्दरगाहमा पाँच तले बहुउपयोगी स्टोरेज बिल्डिङ, एउटा ठूलो र एउटा सानो गोदाम, १८० ठूला ट्रक र दुई वटा जाँच पास केन्द्र रहनेछ। निर्माणाधीन व्यापार पूर्वाधारमा चीन सरकारले डेढ अर्ब लगानी गरेको छ।