जुम्ला। तीन जिल्ला जोड्ने सीमावर्ती क्षेत्र नाग्म बजार व्यवस्थित, चिटिक्क एवं फराकिलो बनेको छ। सडक अतिक्रमण हटाएपछि कालिकोट, जुम्ला र मुगु जोड्ने सीमावर्ती क्षेत्र नाग्म बजार व्यवस्थित बनेको हो।
साँघुरो सडक र सयौ सवारीको चापले नाग्म बजार दुर्घटनाको उच्च जोखिममा थियो। कर्णाली राजमार्गको सडक अतिक्रमण गरी व्यापारीले व्यक्तिगत प्रयोजनका लागि सडक मासेका थिए भने साँघुरो सडक र बढ्दो बजारीकरणले नाग्मको सौन्दर्यता पनि जोखिममा थियो।
सडक डिभिजन जुम्लाले अतिक्रमण हटाएपछि अहिले नाग्म बजार कर्णाली राजमार्गमा रहेका दर्जनौ बजारमध्येकै व्यवस्थित, सुन्दर र फराकिलो बनेको छ। राजमार्गको मापदण्डअनुसार नाला छोडेर १४ मिटर चौडा सडक निर्माण भएको छ।
अतिक्रमण हटाएसँगै नाग्मा बजारमा दुई लेनको सडक निर्माण गरी कालोपत्रेसमेत भएको छ। बजार क्षेत्रको २५० मिटर सडक कालोपत्रे गरिएको छ भने भ्याटसहित ७६ लाख ९५ हजार १ सय ५२ रुपैयाँ लगानीमा २५० मिटर कालोपत्रे, फुटपाथ, नाली निर्माण र सडक मार्किङसमेत गरिएको बताइएको छ।