काठमाडौं। नेपाली सेनाको नेतृत्वमा गरिएको हिमाल सफाइ अभियानबाट चार वटा हिमालबाट १७ हजार केजी फोहोर संकलन गरिएको छ। सफाइ अभियान टोलीले सगरमाथा, ल्होत्से, कञ्चनजंघा र मनास्लुबाट २ हजार ६० केजी सड्ने फोहोर र बाँकी नसड्ने फोहोर संकलन गरेको हो।
चारवटा हिमाल पुगेका टोलीले मंगलबार प्रधानसेनापति प्रभुराम शर्मालाई हिमाल सफाइबारे भिडियो टेलिकम्युनिकेसनमार्फत ब्रिफिङ गरेका छन्। शर्माले भौगोलिक विकटता र प्रतिकूल मौसमको समेत परवाह नगरी विषम परिस्थितिमा सेनाका सकल दर्जाले गरिरहेको कार्यको उच्च मूल्यांकन गरे। उनले हिमाल सफाइअन्तर्गत तोकिएको जिम्मेवारी कुशलतापूर्वक समयमै सम्पन्न गर्न निर्देशन दिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालये जनाएको छ।
जैविक विविधता तथा पर्यावरण संरक्षण गर्ने उद्देश्यले सेनाले चैत २२ गतेबाट सुरु गरेको ‘सफा हिमाल अभियान २०२२’ अन्तर्गत फोहोर संकलन गरिएको हो।
सेनाका अनुसार सगरमाथा÷ल्होत्से हिमालबाट ६ हजार ३६५ केजी, कञ्चनजङ्गा हिमालबाट ६ हजार ६१२ केजी र मनास्लु हिमालबाट ४ हजार २३ केजी फोहोर संकलन गरिएको छ।
यो वर्ष सेनाले ३५ टन फोहोर संकलन गर्ने लक्ष्य रोखेको छ। गत वर्ष १२ करोड ५५ लाख रुपैयाँ खर्च गरेर सेनाले फोहोर संकलनको समन्वय गरेको थियो। चार हिमालमा सैनिक तथा शेर्पासहित ९१ जना सहभागी छन्। गत वर्ष सेनाले ६ वटा हिमालबाट ३५ टन फोहोर संकलन गरेको थियो। सेनाका अनुसार सगरमाथा क्षेत्रमा मात्रै तीन सय शव र फोहोरमैला छन्। सगरमाथा क्षेत्रमा एक सय ४० टन फोहोर र ४० टनजति दिसाजन्य फोहोर रहेको अनुमान छ।