काठमाडौं। खोटाङ र उदयपुरको सिमाना फोक्सिङटारस्थित सुनकोशी नदिमाथि जडान गरिएको अस्थायी बेलिब्रिज खोलिने भएको छ। आउँदो जेठ ८ गतेदेखि बेलिब्रिज खोल्न सुरु हुनेछ।
सगरमाथा गाईघाट–दिक्तेल सडकखण्ड अन्तर्गत खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–६ आपटारको सिमानामा पर्ने फोक्सिङटारको सुनकोशी नदिमाथि जडान गरिएको ५० मिटरको बेलिब्रिज रेग्मी–भानुमति–चौधरी जेभीले खोल्नेछ।
सडक विभागको ७८ लाख बजेटमा गत पुस १ गते सोही जेभीले बेलिब्रिज जडान गरेको थियो। गतवर्ष ८४ लाख खर्चेर रेग्मी निर्माण सेवाले बेलिब्रिज जोड्ने र फुकाल्ने काम गरेको दिक्तेल गाईघाट सडक विभागका योजना प्रमुख ईन्जिनियर गोपाल प्रसाद खकुरेलले बताए।
त्यहाँ बेलिब्रिज जडान भएपछि ६ महिना सो रुटबाट उदयपुरको गाईघाट हुंदै तराईसम्मको सीधा यातायात सेवा सञ्चालन हुन्छ भने, बेलिब्रिज निकालेपछि ६ महिना दिक्तेलबाट घुर्मी–कटारी–मिर्चैया हुंदै तराई जानुपर्ने बाध्यता छ।
अब बेलिब्रिज जोडनु नपर्ने अनुमान
दिक्तेलबाट उदयपुर हुंदै तराई आवतजावत गर्ने सबैभन्दा छोटो रुटमा पर्ने फोक्सिङटारस्थित सुनकोशी नदिमा ९ वर्षअघि ठेक्का लागेको मोटरेबल पुलको कामले यतिबेला भने रफ्तार लिएपछि अब फेरी बेलिब्रिज जडान गर्नुनपर्ने अनुमान गरिएको छ।
नदीको अफ्ठ्यारो कामहरु सकेको अवस्था छ। योजना प्रमुख ईन्जिनियर खकुरेलल भने, ‘पुलको काम धमाधम भईरहेको कारणले अबको पटक बेलिब्रिज राख्नु नपर्ने देखिन्छ।’
सडक विभागको १९ करोड ६० लाख ९ हजार ९४१ रुपैयाँ लगानीमा गौरी पार्वती–वाईपी जेभीले २०७३ चैत २२ गतेदेखि सुनकोशी नदिमाथि १ सय २० मिटर लामो आर्च ब्रिज डिजाईनको मोटरेबल पुल निर्माण गरिरहेको छ। हालसम्म पुलको काममा ८५ प्रतिशत प्रगती भएको जेभीका सञ्चालक रामकुमार थापाले दाबि गरे।
हप्ता दिनमा एप्रोच रोड तयार हुन्छ। असारको १५र१६ मा पुलको आर्च स्ल्याप ढलान गर्ने योजना छ। थापाले भने, ‘ढलान गरेको २१ दिनपछि गाडी गुडाउँछौ संम्भवतः साउन १५ गतेदेखि गाडी गुड्छ।’ आजको हिमालय टाईम्सबाट