काठमाडौं। निर्माणाधीन नागढुंगा–नौबिसे सुरुङमार्ग आयोजनाको ५०.९० प्रतिशत काम सम्पन्न भएको छ। मुख्य सुरुङ र सहायक सुरुङ (इभाकुएसन) गरी २७९६ मिटर सुरुङ खन्ने काम पूरा भएको हो।
आयोजनाका अनुसार काठमाडौंतर्फ मुख्य सुरुङ ६०१ मिटर र सहायक ८२८ मिटर पूरा भएको छ। धादिङतर्फ ६०३ मिटर मुख्य र ५९१ मिटर इभाकुएसन टनेल पूरा भएको छ। धादिङतर्फ १२६ मिटर अडिट टनेल पूरा भएको छ भने ४४ मिटर क्रस प्यासेज निर्माण भएको छ।
इभाकुएसन टनेल आपतकालीन अवस्थामा प्रयोगका लागि मुख्य सुरुङमार्गसँगै समानान्तर हुनेगरी बनाइने सुरुङ हो। यसरी समानान्तर हुनेगरी खनिने स्केप टनेललाई प्रत्येक ३७५ मिटरमा सहायक बाटो (क्रस प्यासेज) ले मुख्य सुरुङसँग जोड्छ।
आयोजनाका अनुसार अहिले टनेलको भित्रका कामलाई मुख्य प्राथमिकता दिएर धमाधम अघि बढाइएको छ। साथै मूख्य सुरुङको काम फिनिसिङ भइरहेको छ। दुवैतिर गरि करिब ६ सय जनाले काम गरिरहेका छन्।
४४ महिनामा यो आयोजना पूरा गर्ने गरी २०७६ कात्तिकबाट काम सुरु भएको थियो। जसको आधा अवधि (२९ महिना) बितेको छ। काम सुरु गरेको हिसाबले आधा अवधि भन्दा धेरै समय सकिएको छ। प्रगतिको हिसाबले भौतिक प्रगति आधा जति भएको छ।
जापान सरकारको करिब १६ अर्ब रुपैयाँ सहुलियत ऋण र नेपाल सरकारको ६ अर्ब गरी २२ अर्ब रुपैयाँमा लागत रहने अनुमानसहित यो सुरुङमार्ग निर्माण भइरहेको हो। निर्माणको जिम्मा जापानी कम्पनी हाज्मा आन्दो कर्पोरेशनले पाएको छ। हालसम्म १० अर्ब खर्च भईसकेको आयोजनाले जनाएको छ।
