काठमाडौं। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको खाद्यान्न तुइनबाट ढुवानी गरिँदै आएको छ। कर्णाली नदीमाथि पुल नभएपछि नयाँ तुइन निर्माण गरेर खाद्यान्न ढुवानी गर्न थालिएको हो।
कम्पनीको हुम्ला शाखा प्रमुख कृष्णप्रसाद आचार्यले जिल्लाका लागि निर्धारित कोटाको खाद्यान्न चङ्खेली र सर्केगाड गाउँपालिकाको सलिसल्लाको कर्णाली नदीमा तुइन निर्माण गरी ढुवानी हुँदै आएको जानकारी दिए। नेपालगञ्ज र सुर्खेतबाट सलिसल्ला (कर्णाली कोरिडोर)सम्म गाडीले ढुवानी गरेको खाद्यान्न तुइनबाट कर्णाली तार्ने गरिएको उनले बताए।
हवाई मार्गबाट ढुवानीको जिम्मा पाएको सिम्रिक एयरले सलिसल्लामा तुइन निर्माण गरेर खाद्यान्न ढुवानी गर्ने व्यवस्था मिलाएको हो। तुइनबाट तारिएको खाद्यान्न ट्याक्टरबाट सलीसल्लामै निर्माण गरेको हेलिप्याड नजिकको गोदाममा राख्ने गरिएको छ। यहाँबाट हेलिकोप्टरले ढुवानी गर्दै छ। अहिलेसम्म तुइनबाट पाँच हजार मेट्रिक टनभन्दा बढी खाद्यान्न ढुवानी गर्नुपर्ने शाखाले जनाएको छ।
आजको गोरखापत्र दैनिकबाट