काठमाडौं। खोटाङ र उदयपुरको सिमाना फोक्सिङटारस्थित सुनकोसी नदीमाथि जडान गरिएको अस्थायी बेलिब्रिज ८ जेठबाट खोल्न सुरु गरिने भएको छ।
सगरमाथा राष्ट्रिय राजमार्ग गाईघाट–दिक्तेल सडक खण्डअनतर्गत खोटेहाङ गाउँपालिका–९ लिच्किराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–६ आँपटारको सिमानामा पर्ने फोक्सिङटारको सुनकोसी नदिमाथी जडान गरिएको ५० मिटरको बेलिब्रिज रेग्मी–भानुमति–चौधरी जेभिले खोल्ने छ।
सडक विभागले ७८ लाख बजेटमा गत पुस १ गते सोही जेभिले बेलिब्रिज जडान गरेको थियो। गतवर्ष ८४ लाख खर्चेर रेग्मी निर्माण सेवाले बेलिब्रिज जोड्ने र फुकाल्ने काम गरेको दिक्तेल–गाईघाट सडक विभागको योजना प्रमुख ईन्जिनियर गोपालप्रसाद खकुरेलले बताए।
त्यहाँ बेलिब्रिज जडान भएपछि ६ महिना सो रुटबाट उदयपुरको गाईघाट हुँदै तराईसम्मको सीधा यातायात सेवा सञ्चालन हुन्छ भने बेलिब्रिज निकालेपछि ६ महिना दिक्तेलबाट घुर्मि–कटारी–मिर्चैया हुँदै काठमाडौं र तराई जानुपर्ने बाध्यता छ। मोटरेबल पक्की पुलको काम नसकिँदा बेलिब्रिज जोड्न र झिक्ने काममा बर्सेनी राज्यको लाखौँ रकम खर्च हुने गरेको छ।
खोटाङ सदरमुकाम दिक्तेलबाट उदयपुर हुँदै तराई आवतजावत गर्ने सबैभन्दा छोटो रुटमा पर्ने फोक्सिङटारस्थित सुनकोसी नदीमा नौ वर्षअघि ठेक्कालागेको मोटरेबल पुलको कामले यतिबेला भने गति लिएपछि अब पुनः बेलिब्रिज जडान गर्नु नपर्ने अनुमान गरिएको छ। तेस्रोपटक थप भएको म्याद सकिँदा पनि पुल निर्माणको काम अझै सम्पन्न हुन सकेको छैन। चार वर्षमा बनिसक्नु पर्ने पुल नौ वर्ष नाघ्दासमेत अधुरै छ।
मोटरेबल पुल निर्माण सम्पन्न नहुँदा जिल्लामा काठमाडौं र तराई आवातजावतमा समस्या हुनुका साथै दैनिक अपभोग्य बस्तुको मूल्यसमेत महँगो पर्ने गरेको जिल्लाबासी बताउछन्। धेरै काम सम्पन्न भैसकेको छ। योजना प्रमुख इन्जिनियर खकुरेलले भने, अब फेरी बेलिब्रिज जडान गर्नु पर्ने नपर्ला।
सडक विभागको १९ करोड ६० लाख ९ हजार ९ सय ४१ रपैयाँ लगानीमा गौरी पार्वती–वाईपी जेभीले २०७३ चैत २२ गतेदेखि सुनकोशी नदीमा १ सय २० मिटर लामो आर्च डिजाइनको मोटरेबल पुल निर्माण गरिरहेको छ। हालसम्म पुलको काममा ८५ प्रतिशत प्रगति भएको जेभिका सञ्चालक रामकुमार थापाले बताए।
आजको कारोबार दैनिकबाट