वीरगञ्ज। घण्टाघरदेखि माइस्थानसम्मको सडक मर्मत गरिने भएको छ। वीरगञ्ज महानगरपालिकाको प्रमुखमा निर्वाचित राजेशमान सिंहले सपथ ग्रहण गरेसँगै वर्षौदेखि जीर्ण घण्टाघरदेखि माइस्थानसम्मको सडक मर्मत गर्ने निर्णय गरेका हुन्।
वर्षौँदेखि मर्मत सम्भार नहुँदा सास्ती खेपीरहेका नगरबासीलाई परिवर्तनको प्रत्याभुती दिलाउन पहिले सडक मर्मत गर्ने उनले बताए।
वीरगञ्जका निवर्तमान मेयर विजयकुमार सरावगीले सडक विभागअन्तर्गत पर्ने उक्त सडक निर्माण गर्न आफ्नो अधिकारक्षेत्र भित्र नरहेको बताउँदै आएका थिए । तर, सपथ लिएकै दिन नवनिर्वाचित मेयर सिंहले उक्त सडकलाई मर्मत गर्ने निर्णय गरेका छन् ।
त्यसैगरी मेयर सिंहले महानगरभित्र बसोबास गर्ने १० हजार ९ सय २४ घरधुरीको घरेलु मिटर (ग्राहस्थ मिटर) मा हुने मासिक ३० युनिटसम्म विद्युत खपत गर्ने प्रयोगकर्ताको न्युनतम शूल्क र इनर्जी शूल्क महानगरले नै भुक्तानी गर्ने निर्णय पनि गरेका छन् ।
पाँच दलीय गठबन्धनले जारी गरेको घोषणा पत्रमा उल्लेख भएबमोजिम बढीमा ३० युनिटसम्म बिजुली खपत गर्ने प्रयोगकर्ताको महशुल महानगरले नै भुक्तानी गर्ने भएको हो । यद्दपी ३० युनिटभन्दा बढी खपत गर्ने सेवाग्राहीले सम्पूर्ण शूल्क आफैं तिनुपर्ने हुन्छ । योजना ३० युनिटसम्म विद्युत खपत गर्ने सेवाग्राहीको लागि मात्र भएको निर्णयमा स्पष्टसँग खुलाईएको छ ।