काठमाडौं। सरकारले पाल्पाको रामपुरलाई नयाँ सहरको रुपमा विकास गर्ने भएको छ। अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको बजेट वक्तव्यमा रामपुरलाई नयाँ सहरका रुपमा विकास गर्ने जनाइएको छ।
रामपुर सहरलाई नेपालको मौलिकशैली र विशेषता झल्कने संरचनासहितको नयाँ सहरको रुपमा विकास गर्न अध्ययन गरिने अर्थमन्त्री शर्माले बताएका छन्। केन्द्रीय कार्यक्रमको बजेटमा रामपुरलाई सम्बोधन गर्दै नयाँ सहरको रुपमा विकास गर्ने कार्यक्रमले यहाँका स्थानीयवासीमा खुसीयाली छाएको छ।
कालीगण्डकी नदी र यसको करिडोरसँग जोडिएको रामपुर भौगोलिक हिसाबले केही भाग डाँडाभेग र समथरभूमि रहेको रमणीय ठाउँ हो। नेपाल सरकारले २०७१ वैशाख २५ गते घोषणा गरेको ७२ वटा नगरपालिकामध्येको एक विविध सम्भावना बोकेको र भौगोलिक हिसाबले ठूलो नगरपालिका पनि हो। साविकका गैँडाकोट, दर्छा, खालीवन, रामपुर र गेझा गाविस समेटिएको यस नगरमा दश वटा वडा रहेका छन्।
जिल्ला सदरमुकाम तानसेनदेखि करिब ६५ किलोमिटर पूर्वमा पर्ने यस नगरपालिका १२३ दशलमव ५ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ। २०७६ मा नगरद्वारा गरिएको घरधुरी सर्वेक्षण अनुसार करिब ४२ हजार जनसङ्ख्या भए पनि विभिन्न पेसा तथा व्यवसाय गरी बसोबास गर्नेको करिब ६० हजार रहेको अनुमान छ।
यहाँ विभिन्न समुदायको बसोबास रहेको छ। विविध भाषाभाषी, रहनसहन, ऐतिहासिक तथा धार्मिक, पर्यटनका हिसाबले रामपुर नगरलाई नमूना सहरका रुपमा विकास गर्ने नगरप्रमुखले बताए।