म्याग्दी । जिल्लाकाके पुरन्य गाउँमा एक सय तीन परिवारले एउटै धाराको पानीले गुजारा चलाउनु पर्ने बाध्यता छ । देशैभर ‘एक घर एक धारो’ कार्यक्रमले व्यापकता पाइरहेको समयमा यहाँका स्थानीयबासीका लागि एउटा मात्रै धारोले काम चलाउनुपर्ने बाध्यता रहेको हो।
जिल्लाको बेनी नगरपालिका–५ स्थित पुरन्य गाउँमा एक सय तीन दलित परिवारको बसोवास छ। ती परिवारका चार सयभन्दा बढी सदस्यले गाउँका बीचमा रहेको एउटा मात्र धारोबाट गुजारा चलाउँदै आएको वर्षौँ बितिसकेको छ।
यो गाउँमा दलितको मात्रै बस्ती रहेको छ। यहाँ बिहान उठेदेखि रातिसम्म पानीको मात्रै चिन्ता हुने गरेको बताइएको छ। अन्य समयमा भन्दा बिहानको समयमा यहाँका गृहिणीहरूलाई सास्ती हुने छ ।
यस गाउँमा पानीकै कारण झगडासमेत हुने गरेको पुलाचौरका बुद्धिजीवी शिव बानियाँले जानकारी दिए। बाक्लो बस्ती भएको यस गाउँलाई चुनावका वेला भने राजनीतिक दलका नेताहरूबाट खुब मिठा–मिठा आश्वास मिल्ने गरेका, तर ती आश्वासन कहिल्यै पनि वास्तविकतामा परिणत हुन नसकेको स्थानीय अगुवा यामबहादुर दर्जीले बताए।
जिल्लास्थित राजनीतिक दलहरूले मात्रै होइन स्थानीय तहका जनप्रतिनिधिहरूले समेत यस गाउँलाई बेवास्ता गर्ने गरेको उनीहरूको आरोप रहेको छ।