काठमाडौं। नेपालगञ्जको धम्बोझी चोकमा पूर्वराजा वीरेन्द्र शाहको शालिक राख्ने विषयमा प्रहरी र राष्ट्रवादी युवा समूहका सदस्यबीच झडप हुँदा केही घाइते भएका छन्। सो झडपमा परेर नौ जना प्रहरी, सो समूहका सदस्य र केही सर्वसाधारण घाइते भएका हुन्।
झडपपछि केहीबेर बजारमा तनाव हुँदा प्रहरीले कयौँ राउण्ड हवाई फायर गरेको थियो। राष्ट्रवादी युवा समूहले चोकमा स्वर्गीय राजा वीरेन्द्र शाहको शालिक राखेका थिए। राखेको शालिक प्रहरीले हटाएपछि उक्त समूहले न्यूरोडमा रहेको शहीद सेतु विकको शालिकसमेत तोडफोड गरेको छ। धम्बोझीचोकमा राखिएको पूर्वराजा वीरेन्द्रको अर्धकदको शालिक प्रहरीले हटाउँदा स्थिति नियन्त्रण भन्दा बाहिर जाने देखिएपछि प्रहरीले फायर खोलेको जिल्ला प्रहरी कार्यालय, बाँकेको प्रहरी कार्यालयले जनाएको छ।
प्रहरीले घटनास्थलबाट चार जनालाई नियन्त्रणमा लिएको जनाएको छ। आक्रोशित राष्ट्रवादी युवा समूहले सेतुविक चोकमा रहेको शहीद सेतुको शालिकसमेत तोडफोड गरेपछि प्रहरीले धम्बोझी चोक र सेतु विक चोकलाई घेरा हाल्नुको साथै बिपीचोक, पुष्पलाल चोकमा पनि सुरक्षा सर्तकता बढाएको छ।
तत्कालीन राजा वीरेन्द्रको बंश नाश भएको आज २१ वर्ष पूरा भएको दिन पारेर शालिक पुनःस्थापना गरिएको थियो। २०६२/६३ को जनआन्दोलनमा वीरेन्द्र चोकमा रहेको स्व राजा वीरेन्द्रको शालिक भत्काइएको थियो। नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट र उपप्रमुख कमरुद्दिन राईले घटनास्थलमा पुगेर नेपालगञ्जमा कायम रहेको सामाजिक सद्भावमा खलल नपुर्याउन आग्रह गरेका छन्।