काठमाडौं। काठमाडौँ–तराई–मधेश द्रुत मार्ग (फास्ट ट्रयाक)को सुरुङ खन्ने काम रोकिएको छ। निर्माणाधिन दुई खण्डमा खनिँदै आएको काम ठेक्का सम्झौताअनुरूप नदेखिएकाले नेपाली सेनाले ठेकेदारलाई काम रोक्न निर्देशन दिएको हो।
उक्त फास्ट ट्रयाकको सुरुङ खन्ने काम चिनियाँ ठेकेदार कम्पनीले गर्दै आएको थियो। उक्त निर्माण कम्पनीले सुरुङ खन्नका लागि सम्झौताअनुसारको ‘थ्री आम्र्स जम्बो’ मेसिन नल्याई सामान्य रूपमा खन्न थालेकाले कामको गुणस्तर पनि कमजोर रहेको पाइएपछि तत्काल काम रोक्न निर्देशन दिइएको बतईएको छ।
निर्माण कम्पनीबाट अहिलेसम्म भएका सुरुङसँग सम्बन्धित कामको गुणस्तर जाँचबुझ तथा समीक्षा गर्न सुरुङ खन्ने काम रोकिएको नेपाली सेनाले जानकारी दिए। द्रुत मार्ग आयोजनाले नियुक्त गरेको परामर्शदाता कम्पनीले अहिले सुरुङ मार्गको पुनरावलोकन गरिरहेको छ। अहिलेकै गुणस्तर तथा गतिमा कामलाई अगाडि बढाइने वा थप गर्नेलगायतका विषयमा समेत निर्माण कम्पनीसँग छलफल गर्नुपर्ने भएकाले समेत काम रोकिएको सेनाको भनाई छ।