एजेन्सी। युक्रेनमा युद्ध जारी राखेको रसियाले युक्रेनी सहर सेभेरोडोनेट्स्कका सबै पुलहरू ध्वस्त बनाएको छ। रसियाले सेभेरोडोनेट्स्कमा रहेका तीन वटा पुल ध्वस्त बनाएको हो।
स्थानीय गभर्नर सेर्हेई हाइडाईका अनुसार सेभेरोडोनेट्स्कका सबै पुल ध्वस्त भएसँगै सहर पूर्ण रूपमा विच्छेद भएको छ। यो सँगै त्यहाँ आपूर्ति व्यवस्था मिलाउन र नागरिकहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्न समस्या भएको गभर्नर सेर्हेईले जानकारी दिएको बिबीसीले जनाएको छ।
सहरका बासिन्दालाई ‘अत्यन्तै कठिन परिस्थितिमा’ बाँच्न बाध्य पारिएको गभर्नर सेर्हेईले बताएका छन्। उक्त पूर्वी युक्रेनी सहरमा अहिले पनि भीषण लडाइँ जारी छ।
युक्रेनी अधिकारीका अनुसार त्यहाँ रूसले आफ्ना सेनाहरूलाई सैन्य केन्द्रहरूबाट बाहिर निकालेको छ। यो सँगै रुसले सेभेरोडोनेट्स्क र नजिकैको सहर लिसिचान्स्क कब्जामा लिने प्रयास गरिरहेको छ।
उक्त क्षेत्रका धेरैजसो भू–भागहरू रुस समर्थित पृथकतावादीहरूद्वारा नियन्त्रित छन्। बिबिसीका अनुसार उक्त सहरको करिब ७० प्रतिशत हिस्सा अब रुसी नियन्त्रणमा पुगेको छ।
रूस समर्थित स्वघोषित डोनेट्स्क पिपुल्स रिपब्लिकका सैन्य प्रतिनिधिले उक्त सहरमा बाँकी रहेका युक्रेनी सेनाहरूले आत्मसमर्पण गर्नुपर्ने वा ज्यान दिनुपर्ने बताएका छन्।