काठमाडौं। नेपाल टेलिकमले फ्रि टु एयर टेलिभिजन च्यानलहरु निःशुल्क हेर्न सकिने सुविधा भएको ‘एनटीटीभी’ एपको परीक्षण शुरु गरेको छ। टेलिकमले एन्ड्रोइडको प्ले स्टोर तथ एप्पलको एम स्टोरमार्फत गत जेठ २४ गतेबाट एन्टीटीभीको परीक्षण शुरु गरेको हो।
यस एपमार्फत एन्ड्रोइड र आइओएसका मोबाइलहरुमा उपलब्ध रहेका सम्पूर्ण नेपाली टेलिभिजन च्यानलहरु लगायत अन्य विभिन्न टेलिभिजन च्यानलहरु प्रत्यक्ष हेर्न सकिने टेलिकमले जनाएको छ ।
यी च्यानल हेर्नका लागि नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताहरुले गुगल प्ले स्टोर तथा एप्पल एप स्टोरमार्फत ‘एनटीटीभी’ एप डाउनलोड गर्नुपर्छ ।
डाउनलोड गरिएको एपमा आफ्नो मोबाइल नम्बर र ओटीपी कोड राखेपछि सो एप प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ । यसपछि आफूलाई मन परेको च्यानल जुनसुकै डाटा प्याक तथा वाईफाईमार्फत सहजै हेर्न सकिन्छ । एपमा भएका च्यानलहरु हेरेवापत हाल छुट्टै शुल्क तिर्नु नपर्ने टेलिकमले जनाएको छ।