काठमाडौं। नेपाल सरकार संघीय आयोजना कार्यान्वयन इकाई नेपाल्गञ्जले समयमा काम नगर्ने निर्माण कम्पनी सहित १७ वटा कम्पनीको नाम सार्वजानिक गरेको छ। बुधबार सूचना जारी गर्दै समयमा काम नगर्ने १७ वटा कम्पनीको नाम सार्वजानिक गरेको हो।
उक्त कार्यालयले नाम सार्वजानिक गरेका कम्पनीले सम्झौता भएका योजनाहरुको हाल सम्मको कार्य प्रगति सन्तोषजनक नभएको र आगामी आर्थिक वर्ष २०७९/०८० मा उल्लेयखित योजनाहरु बार्षिक कार्यक्रम तथा बजेटमा समाबेश नभएकाले चालु आर्थिक बर्ष भित्रै सम्पन्न गरी फरफार गर्न विभागीय निर्देशन समेत प्राप्त भएको हुँदा सम्बन्धीत निर्माण व्यवसायीलाई खरिद सम्झौता अवधि भित्रै निर्माण कार्य सम्पन्न गरी अन्तिम बिल भुक्तानीका लागि पेश गरी सक्नुपर्ने सूचनामा उल्लेख गरिएको छ।
संघीय आयोजना कार्यान्वयन इकाई नेपालगञ्जले प्रकाशन गरेको सूचनामा भट्टराई कन्स्ट्रक्सन, आकृति निर्माण सेवा, जय बागेश्वरी निर्माण सेवा, हरीवम कन्स्ट्रक्सन, सामुदायीक निर्माण सेवा, अनामिका कन्स्ट्रक्सन, निसान निर्माण सेवा लगाएतका निर्माण कम्पनीको समेत नाम सार्वजानिक गरिएको छ।
कार्यालयले उक्त कम्पनीहरुलाई तोकिएको अवधी भित्र निर्माण सम्पन्न नभएमा सार्वजानिक खरिद ऐन, २०६३, ऐ. नियमावली २०६४ तथा खरिद सम्झौतामा भएका प्रावधान बमोजिम खरिद सम्झौता अन्त्य गरी आवश्यक कारवाहीको प्रक्रिया अघि बढाईने जनाएको छ।
