एजेन्सी। हवाई इन्धन (एटीएफ) को मूल्य अहिलेसम्मकै उच्च भएको छ। सन् २०२१ को जुनदेखि बढ्दै गएको हवाई इन्धनको मूल्य १२० प्रतिशतभन्दा बढी बढेर इतिहासकै उच्च मूल्य कायम भएको हो।
बिहीबार हवाई इन्धनको मूल्य बढेसँगै अब दिल्लीमा एटीएफको मूल्य १६.३ प्रतिशतले बढेर १.४१ लाख रुपैयाँ प्रति किलोलिटर पुगेको छ। यो एटीएफको मूल्य अहिलेसम्मकै उच्च दर हो ।
यो वर्ष मात्रै एटीएफको मूल्य झण्डै दोब्बर भएको छ भने पछिल्ला ६ महिनामा ९१ प्रतिशतले बढेको छ । यस वर्षको जनवरीमा एटीएफको मूल्य प्रतिकिलोलिटर ७२ हजार ६२ रुपैयाँ मात्रै थियो ।
एटीएफको मूल्य रेकर्ड उच्च पुगेपछि अब हवाई यात्रामा यसको असर पर्ने भएको छ । एटीएफको भाडा बढेपछि एयरलाइन्सहरुले अब भाडा बढाउने तयारी गरेका छन् । एटीएफको बढ्दो भाउ र रुपैयाँको अवमूल्यनमा आएको गिरावटका कारण भाडा बढाउनुको विकल्प नभएको एयरलाइन्सले बताएका छन् ।
पछिल्ला केही महिनामा एटीएफको मूल्य बढेको बोझलाई सम्हाल्नका लागि एयरलाइन्सले हरसम्भव प्रयास गरे पनि अहिले त्यो सम्भव नभएको बताइएको छ ।
हवाई इन्धनको मूल्यमा भएको तीव्र बृद्धि र रुपैयाँको अवमूल्यनका कारण तत्काल कम्तीमा १०–१५ प्रतिशतले भाडा बढाउनुपर्ने आवश्यकता रहेको एयरलाइन्स कम्पनीहरुले बताएका छन्।