काठमाडौँ। कोइला र प्राकृतिक ग्यास अभावमा विश्वमै ऊर्जा संकट निम्तिएको छ। हाल चीन, भारत र केही युरोपियन मुलुकले चरम रूपमा यस्तो संकट भोगिरहेका छन् । कोइला उत्पादन तथा खपत गर्ने राष्ट्रहरूमा छिमेकी मुलुक चीन पहिलो र भारत दोस्रो स्थानमा रहेका छन् । हाल त्यहाँ देखिएको समस्याले नेपालमा कस्तो असर पार्न सक्छ भन्ने चिन्ताको विषय बनेको छ।
चीनमा देखिएको समस्याले मात्र विश्वभर त्यसको असर देखिने समाचार संस्था फाइनान्सियल टाइम्सले उल्लेख गरेको छ। हाल देखिएको समस्याले कोभिड महामारीपछि विश्व अर्थतन्त्र पुनरुत्थान गर्ने समयमा ऊर्जा संकट देखिँदा त्यसले उत्पादन, व्यापार र सेवा क्षेत्रमा समेत गम्भीर असर पुर्याउने ठानिएको छ। समाचार एजेन्सी रोयटर्सले पनि कोइला र प्राकृतिक ग्यासका ठूला उत्पादक मुलुक नै अहिले संकटमा परेकाले सबैतिर त्यसको असर देखिने उल्लेख गरेको छ ।
हाल देखिएको समस्याको मुख्य कारण माग र आपूर्तिको असन्तुलन हो। जसको असर जैविक इन्धनको मूल्यमा पनि देखिएको छ। त्यस्तै गत जुनमा प्रतिमेट्रिक टन ६ देखि ८ सय युआन हाराहारीमा रहेको कोइलाको मूल्य अहिले बढेर १ हजार ४ सय युआन पुगेको छ। एक्सचेन्जका अनुसार गत जुन र जुलाईमा औसत १ सय अमेरिकी डलर प्रतिमेट्रिक टनमा कारोबार भइरहेको कोइला अहिले २ सय २० देखि २ सय ५० अमेरिकी डलरसम्म पुगेको छ।
हाल चीन मात्र नभएर भारत, बेलायत, रुस, फ्रान्स, स्पेन, अमेरिका, नर्वे, जर्मनीलगायत मुलुकमा ऊर्जा संकटको समस्या देखिन थालेको छ। आउँदो हिउँदयाममा विश्वभर नै यस्तो संकटको चुनौती देखिने आकलन रहेको छ। चीनमा भएको कुल ऊर्जा खपतको ६० प्रतिशत र भारतमा हुने कुल ऊर्जा खपतको ७० प्रतिशत कोइलाले ओगट्ने गरेको छ। कोइलाको प्रयोग कटौती कट द कोललाई विश्वव्यापी पहलका रूपमा लागू गर्न राष्ट्रसंघले आह्वान गरिरहेको छ भने युरोपियन युनियनले पनि आफ्ना सदस्य राष्ट्रहरूलाई समस्या समाधानको एकीकृत पहल तथा कार्ययोजना तयार पार्न अपिल गरेको छ।
आर्थिक वर्ष २०७७र७८ मा नेपालले २७ अर्ब २५ करोड १३ लाख रुपैयाँ बराबरको कोइला आयात गरेको भन्सार विभागको तथ्यांक रहेको छ। हाल नेपालले भारत, चीन र इन्डोनेसियाबाट कोइला आयात गर्दै आएको छ। कोइलाको मूल्य बढ्दा नेपालमा यसको असर विकास निर्माणका काममा पर्ने नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष बताएका छन्। कोइलाको मूल्य बृद्धिको कारण सिमेन्ट, फलाम तथा स्टिल र इँटा उद्योगमा अहिल्यै असर देखिन थालिसकेको छ। हाल कोइलाको मूल्य अन्तर्राष्ट्रिय बजारमा दोब्बर बढेको छ । त्यसैले सिमेन्टमा अहिल्यै पनि प्रतिबोरा न्यूनतम ५० देखि १ सय रुपैयाँसम्म मूल्यवृद्धि हुने अवस्था देखिएको छ भने फलाम तथा स्टिलमा १० देखि १५ प्रतिशत मूल्य बढ्नेछ।