काठमाडौं। हैजा देखिएका काठमाडौंको बागबजारका दिदीबहिनीमा धारा र ट्युवबेलको पानीबाट हैजा संक्रमण भएको पुष्टि भएको छ।
स्वास्थ्य विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुम्मनलाल दासका अनुसार उनीहरुले पिउने पानीको नमुना परीक्षण गर्दा इकोली र कोलीफर्म नामक जीवाणु भेटिएको छ। इकोली र कोलीफर्म मानिसको दिसामा रहने संक्रामक जिवाणु हो।
‘धारा र ट्युवबेलबाट आएको पानीको नुमना परीक्षण गरेका थियौं। रिर्पोटमा घातक जीवणु कोलोफर्म र इकोली नै भेटियो,’ डा. दासले भने। हैजा देखिएका अन्य क्षेत्रको पनि पानीको नमुना परीक्षण भइरहेको उनले जानकारी दिए।
महाशाखाका अनुसार अहिलेसम्म ५ जनामा हैजा पुष्टि भइसकेको छ। बुधबार डिल्लीबजारमा हैजाको नयाँ केस पुष्टि भएको छ। ‘बागबजार तथा अन्य हैजा देखिएको ठाउँका मानिसलाई अलर्ट गरिसकेको छौं। पानी उमालेर मात्रै खानु भनेका छौं,’ डा. दासले भने, ‘केसहरु एक ठाउँमा मात्रै छैन। ठाउँ–ठाउँमा देखिएको छ। अब आउटब्रेक हुनसक्छ।’
अनलाईन खबर