काठमाडौं। सल्यानमा वन क्षेत्र अतिक्रमण गरी बनाइएका घर टहरा हटाइएको छ। डिभिजन वन कार्यालय सल्यानले कपुरकोट गाउँपालिका –३ को बजार क्षेत्रमा १० वर्ष देखि वन क्षेत्र अतिक्रमण गरी बनाएका ९ वटा घर टहराहरू हटाएको हो।
डिभिजन वन कार्यालय सल्यान अनुसार काफलनेटी सामुदायिक वन क्षेत्र भित्र अतिक्रमण गरी निर्माण गरिएका घर टहरालाई सशस्त्र वन रक्षकको टोली परिचालन गरी हटाइएको हो।
कार्यालयबाट पटक पटक जग्गा खाली गर्नको लागि सूचना टाँस गरे पनि स्थानीयले अटेर गरेपछि बाध्य भएर सुरक्षाकर्मीको सहयोग लिएर टहरा भत्काएको बताइएको छ।
राप्ती राजमार्गको छेवैमा रहेको र हाल काफलनेटी सामुदायिक वनको स्वामित्वमा रहेको सामुदायिक वनको जग्गा मासिने खतरा बढेकाले सुरक्षाकर्मी तथा डोजर प्रयोग गरेर टहरा भत्काएको प्रहरीले जनाएको छ।
जिल्लाका अन्य क्षेत्रमा पनि क्रमैसँग कानुन अनुसार वन क्षेत्रमा अतिक्रमण गरी बनाइएका घरहरू हटाउँदै जाने समेत डिभिजन वन कार्यालय सल्यानले बताएको छ।