काठमाडौं। सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएसँगै सार्वजनिक सवारी साधनको भाडा पनि घट्ने भएको छ। यातायात व्यवस्था विभागले आज सार्वजनिक सवारी साधनको नयाँ भाडादर सार्वजनिक गर्ने भएको हो।
विभागकाले समायोजनको दर आज सार्वजनिक गरिने जानकारी दिएको छ। कार्यालय समय खुल्ने बित्तिकै अन्तर प्रदेशमा चल्ने सवारीको नयाँ भाडादर सार्वजनिक गरिने बताइएको छ। काठमाडौं उपत्यकाको भाडादर समायोजनको जिम्मा भने प्रदेश यातायात कार्यालयको रहेको बताइएको छ।
सरकारले हिजो शनिबारका दिन पेट्रोलियम पदार्थको मूल्य घटाएकाले विभागले आजमात्र समायोजनबारे निर्णय गर्न लागेको हो। यसअघि असारको पहिलो हप्ता पेट्रोल र डिजेल तथा मट्टितेलमा भारी मात्रामा मूल्यवृद्धि भएपछि विभागले असार ६ गते सवारी साधनको भाडा वृद्धि गरेको थियो।
सरकारले हिजो पेट्रोलमा प्रतिलिटर २० तथा डिजेल र मट्टितेलमा प्रतिलिटर २९ रुपैयाँ मूल्य घटाएको छ। सरकारले घटाएको मूल्य गएराति १२ बजेदेखि लागू भएको छ।