काठमाडौं। निर्माण सकिएको दुई सातामै कृषि हाटबजारको संरचना भासिएको छ। खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा निर्माण गरिएको कृषि हाटबजारको संरचना दुई साता नपुग्दै भासिएको हो।
उक्त कृषि हाटबजार प्रदेश १ सरकारको अनुदानमा निर्माण भएको थियो। कृषि मन्त्रालयको नौ लाख ६० हजार अनुदान र उपभोक्ताको एक लाख ७ हजार ९८६ रुपैयाँको श्रमदानमा निर्माण गरिएको हाटबजारको ट्रसको पर्खाल असार १७ गते राति चिरा पर्नुका साथै प्राङ्गण भासिएको छ।
उपभोक्ता समितिले काममा लापरबाही गरेकाले पर्खाल चिरा परेर भासिएको वडा नं ७ का अध्यक्ष कमल गिरीले बताए। “आजै मात्र हामी हाटबजार ट्रसको अनुगमनमा पुगेका थियौं,” वडाध्यक्ष गिरीले भने, “काममा एकदमै लापरवाही भएको छ। कमसल तरीकाले काम भएको देखिएको छ।”
हलेसी तुवाचुङ नगरपालिकाले तीन वर्षअघि सोही ठाउँमा पशु वधशालाका रूपमा प्रयोग गर्ने गरी आठ मिटरको ट्रस निर्माण गरेको थियो। सोही ट्रसमा जोडेर अर्को नयाँ ट्रस, शौचालय लगायत संरचना निर्माण गरिएको हो। हिमालखबरबाट